नेपालको संविधानमा ४०० बढी भाषिक अशुद्धि तथा व्याकरणीय त्रुटि
३ असोज, २०८३, शनिवार
- सबैको ध्यान शासकीय स्वरुप, राजनीतिक प्रणाली आदि फेरबदल र त्यसको संशोधन आदिमा छ। तर कसैले पनि संविधानमा भएका भाषागत तथा व्याकरणीय अशुद्धिहरूको बारेमा चर्चा गरेको सुनिएको छैन।
आज संविधान दिवस। टुँडिखेलमा भव्य औपचारिक कार्यक्रमका साथ संविधान दिवस मनाइएको छ। संविधान जारी भएको ११ औँ वर्ष पूरा गर्दै १२ औँ वर्षमा प्रवेश गर्दा यसमा भएका धेरै विषयहरूको संशोधन गर्नुपर्ने चर्चा भइरहेको छ। शासकीय स्वरुपदेखि संविधानको मूल विशेषता भनिएका विषयहरूमा समेत व्यापक असन्तुष्टि सहित बेलाबखत संविधान पुनर्लेखन तथा संशोधनको चर्चा सडकदेखि सदनसम्म चल्ने गरेको छ तर संविधानमा भएका भाषागत तथा व्याकरणीय अशुद्धिहरूका बारेमा कसैको पनि ध्यान गएको देखिएको छैन।
म एक नेपाली भाषा तथा व्याकरणको अध्येता भएको नाताले संविधानमा भएको भाषागत तथा व्याकरणीय अशुद्धिहरूलाई सुधार गर्नुपर्छ भन्ने मान्यता राख्छु । मलाई नेपालको वर्तमान संविधानमा ४०० भन्दा बढि भाषागत, व्याकरणीय अशुद्धिहरू छन् भन्दा अत्यन्त पीडाबोध हुन्छ । अझ सङ्घीयतालाई महान् उपलब्धि ठान्नेहरूले संविधानमा एक स्थानमा पनि 'सङ्घीयता' शब्दलाई नै शुद्धसँग लेख्नुपर्ने आवश्यकता देखेनन् । वास्तवमा संविधानले प्रष्टसँग नेपालका रैथाने मौलिक धर्म-संस्कृति, भाषा आदिको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने नीति नलिएकाले सायद भाषागत शुद्धता कायम गर्नु पर्ने बाध्यता संविधान जारी गर्ने बखतका शासकले देखेनन् कि ?
तर विगत र वर्तमानका शासकहरूले बुझ्नुपर्छ, नेपाली भाषा केवल नेपालीजनको भावनाको आदानप्रदानका लागि प्रयोग हुने भाषिका मात्रै होइन । यो हाम्रो धर्म-संस्कृति, ज्ञान परम्परा र सिङ्गो सभ्यतालाई जीवित राख्ने एक मूल आधार हो । नेपाली भाषाले आजको स्वरूप पाउनका निम्ति निकै समय चन्दन घोटिएजसरी घोटिएको छ । तर पछिल्लो समय जानाजान र अनजान दुवै तरिकाले यस भाषाको स्वरूपलाई मेटाउन खोजिएकोजस्तो अनुभूति हुन्छ ।
भाषा कसैले ‘ला गरिखा’ भनेर दिएको वस्तु होइन । अझ हाम्रो सभ्यतामा त संसारकै अरू सभ्यतामा नभएको भाषिक चिन्तन छ । हामीले बोलेका र लेखेका शब्दहरूमा एक छुट्टै अर्थप्रेरकता छ । त्यसको परमशक्तिलाई स्फोट भनिन्छ । “वाग् वै ब्रह्म” (बृहदारण्यकोपनिषत् १/३/२१) । हामीले बोलेका प्रत्येक अक्षरले फल दिने हुँदा असत्य र अप्रिय बोल्न नहुने मान्यता हाम्रै भाषामा र हाम्रै सभ्यतामा छ ।
अक्षरब्रह्मको चिन्तन गर्ने भाषावैज्ञानिक र विद्वान्हरूको विद्वत्ताले घनीभूत भएको संस्कृतभाषाको आधा बिरासतलाई स्वीकारेको नेपाली भाषाले मनलाग्दी प्रयोग गर्न पाउँदैन । न कसैले नेपाली भाषा माथि छेडखानी गर्न नै पाउछ, यो सरासर हाम्रो सभ्यता माथिको आक्रमण हो। न त पहिले पहिलेका भारतीयहरूले भनेको जस्तो हिन्दीको एक खण्ड नेपाली भाषा नै हो । नेपाली भाषाको आफ्नै मौलिक विशेषता छ । यसको शुद्धता नै हाम्रो संस्कृति र सभ्यता जिवन्त बनाउने सेतु हो।
वर्तमान सरकार निर्माण भएलगत्तै संविधान संशोधन कार्यदल समेत गठन गरी संविधान संशोधनका लागि बहस सुरुवात भएको थियो। सबैको ध्यान शासकीय स्वरुप, राजनीतिक प्रणाली आदि फेरबदल र त्यसको संशोधन आदिमा छ। तर कसैले पनि संविधानमा भएका भाषागत तथा व्याकरणीय अशुद्धिहरूको बारेमा चर्चा गरेको सुनिएको छैन।
हाम्रै छिमेकी तथा मित्र राष्ट्र भारतले संविधानमा रहेका व्याकरणीय तथा भाषागत अशुद्धिहरूलाई संशोधन गरेर शुद्ध बनाउनकै लागि सन् १९८७ मा संशोधन गरी शुद्ध बनाएको थियो । यहाँ स्मरणीय के छ भने भारतको संविधान जारी हुँदा २६ जनवरी १९५० मा अङ्ग्रेजी र हिन्दी भाषाका दुवै प्रतिमा हस्ताक्षर गरी जारी गरिएको भएपनि अंग्रेजी मूल प्रतिलाई मात्रै न्यायिक र कानुनी मान्यता प्रदान गरिएको थियो । तर १९८७ को ५८ औं संशोधनले हिन्दी संस्करणलाई पनि कानुनी मान्यता प्रदान गर्नुका साथै सुरुको हिन्दी प्रतिमा रहेका व्यापक भाषिक र व्याकरणीय अशुद्धिहरूलाई संशोधन गरी शुद्ध बनाएको थियो । यसैबाट आफ्नो देशको भाषा र त्यस भाषाको शुद्धताको महत्त्व कति हुन्छ भन्ने बुझ्न सकिन्छ ।
अब मूल विषयमा प्रवेश गरौँ -
प्रस्तावना: संविधानमा आएको गलगाँड
संविधानको प्रस्तावनाले आम नागरिकलाई सो संविधानप्रति विश्वास र देश प्रति गौरवबोध गर्ने सामर्थ्य राख्नुपर्छ, तर कुनै कुण्ठाग्रस्त कम्युनिष्ट नेताले भाषण गर्दा प्रयोग गरेका गाली गलौजका वाक्यहरू जस्ताको त्यस्तै टिपेर संविधानको प्रस्तावनामा रखिएको जस्तो देखिन्छ । ( .... ..... ...... ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै ; सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै ” (प्रस्तावना, पृ.१)। यो पढदा यस्तो लाग्छ कि मानौँ विगतमा राष्ट्रहितका लागि कुनै काम भएको थिएन । केवल पछिल्ला गणतन्त्रिक शासकहरूले गरेका राजनैतिक उपद्रवहरू मात्रै महान् उपलब्धि हुन् ? देश एकीकरण गर्ने काम, त्यसका लागि अङ्ग्रेजसँग लडेर रगत पसिना बगाउने हाम्रा महान् पूर्वज, भाषा, धर्म-संस्कृति निर्माण गर्ने र त्यसलाई हाम्रा सामु हस्तान्तरण गर्ने ऋषि, महर्षि र हाम्रा पूर्वज आदि केही होइनन् ? उनीहरूको यो देशमा केही योगदान छैन ? हाम्रा पूर्वज सामन्ती निरङ्कुश मात्रै हुन्? ती गाली गलौजका पात्र मात्रै हुन् ?
संविधानमा आएका खटिराहरू
भाषाविद्हरूले त कोर लागेको भनेर घिनै मान्न पनि सक्लान् । सामान्य नेपाली अध्येताहरूले र नेपाली पढेका विद्यार्थीहरूले चाहिँ ‘संविधानका खटिरा आएछन्’ भन्ने निश्चित छ । नगण्य खटिराहरूको भन्दा पनि कन्तबिजोक देखिने खटिराहरू देखाउने प्रयास यहाँ गरेको छु।
पञ्चमवर्णको प्रयोग
नेपाली व्याकरणमा शब्दस्रोतका आधारमा तत्सम शब्द मुख्य हो । अझ भनौँ संस्कृतबाट जस्ताको तस्तै आएका शब्दहरूले गर्दा नै नेपाली भाषामा मिठास पनि छ र यसको उत्कर्ष पनि छ । गणनाकै हिसाबले भनेपनि शब्दकोशमा तत्सम शब्दहरूको आधिक्य सजिलै देख्न सकिन्छ । फूल चाहिँ मन पऱ्यो तर यसको सुगन्ध चाहिँ मन परेन भनेर कुनै मूर्खले टिपेर ल्याएझैँ गरेको भान यहाँ हुन्छ । भाषाको आफ्नै शरीर हुन्थ्यो भने पक्कै दुरुपयोग गर्नेहरूलाई प्रहार गर्न खोज्थ्यो होला । त्यही प्रहार न पाउँदा भाषामा जे जसो गरेपनि हुन्छ भन्ने भ्रम हामीलाई भएको हुनसक्छ । तर त्यो भ्रम नपालेर सही प्रयोग गर्ने जिम्मा हामीहरूले लिनैपर्छ । नत्र चेतशील भनेर नारा नलगाए हुन्छ । टङ्कण गर्नाको अल्छीले वा सहजताका लागि पञ्चम(ङ,ञ, ण, न, म) वर्णको प्रयोगलाई यसरी बेवास्ता गर्ने हो भने त भाषाको स्वरूप छिटै नै कुरूप हुनसक्ने देखिन्छ । यसमा हामी सचेत र जिम्मेवार हुनैपर्छ । सङ्घीयताको रटना लगाएको संविधानले सङ्घ शब्दलाई १०८ भन्दा बढी जपे पनि कतै झुक्किएरसमेत शुद्ध नपर्दा (संघलाई सङ्घ नलेखेको देख्दा) दङदास परिन्छ ।
अब हेरौँ नेपालको संविधानमा आएको यो रोगको प्रकार
राजपत्रांकित, संघर्ष, निरंकुश, लैंगिक, संकल्प, संघीय, आकांक्षा, बहुसंख्यक, रंग, अंकित, अंगीकृत, लिंग, संगठन, भंग, अपांगता, तथ्यांक, सर्वांगीण, मूल्यांकन, गंभीर, उल्लंघन, संख्या, टुंगो, शंका, आशंका, प्रासंगिक, संकट, विश्रृंखलता (शृ नभएर श्रृ लेखेको), संगठित, सूचकांक, संभावित, संग्रह, सीमांकन र संग्रहालय । यी हरेक शब्दहरूलाई दोहोराइ पनि गन्ने हो भने संविधानका पृष्ठका अधिकांश वाक्यमा रातो चिन्ह लाग्नेछ ।
ह्रस्वमा दीर्घको प्रयोग
विशेषतः कानुनी पारिभाषिक शब्दहरूको प्रयोग गर्दा फारसीमूलका वा अरबी शब्दहरूको बढी प्रयोग नेपाली भाषामा देखिन्छ नै । यी आगन्तुक शब्दहरूमा पनि एकरूपता भने देखिँदैन । नेपाल एकेडेमीले पनि वास्ता गर्दैन यी कुरा । संविधानमा एउटा प्रयोग र शब्दकोशमा एउटा । यो पनि विचित्रको कुरा छ ।
कानून, लागू, कसूर, मजदूर, जमीन, शुरू, महीना, तरीका, छुवाछूत, पूँजी, वकील, वालिग र महसूल । यी शब्दहरू अधिकतर शब्दहरू ह्रस्व नै लेखिन्छन् । तर संविधानले भने दीर्घ लेखेको छ । ( पेश, शर्त र शुरू शब्दका सकार पनि चिन्तनीय देखिन्छन् । ) दिईने, लिईने, कोटीकोटी र छानबीन जस्ता शब्दहरूको उपचार गर्नुपर्ने देखिन्छ ।
चन्द्रविन्दुको अपमान र शिरविन्दुको दुरुपयोग
अधिकतया शिरविन्दु अनुस्वार हो भने चन्द्रविन्दु अनुनासिक हो । चन्द्रविन्दुको साटो शिरविन्दु प्रयोग गर्छु भन्नु भनेको परेलाको ठाउँमा र आँखीभौँ भए नि के भो र ? भन्नुजस्तै हो । लाग्ला कि कसैलाई आँखा वरपरकै रौँ न हुन् । तर आँखीभौँको भूमिका र बनोट दुवै फरक छन् अनि परेलाका पनि । व्यापहारिक सत्तामा त यतिविधि फरक पर्छ भने भाषिक संसारमा त झन् एउटा मात्राले पनि अर्थविपर्यय हुन जान्छ । नदी र दीन उही हुन् झुक्किएर अघिपछि भएको हो भन्ने कुरा भाषाले मान्दैन । संविधानमा प्रयोग भएका शब्दहरूमा चाहिँ अर्थविपर्यय चाहिँ देखिँदैन तर अस्वाभाविक र भाषाको बेवास्ता भने देखिन्छ। आफैं, लिंदा, गर्दछौं, दिंदै, पैंतालिस, पैंसट्ठी, सयौं र सिंचाइ जस्ता शब्दहरूमा उच्चारणमा अभ्यस्त व्यक्तिले सजिलैसँग दाँतमा ढुङ्गा लागेको जस्तै महसुस गर्न सक्छन् । यी शब्दको उच्चारण त आफैम्, लिन्दा र गर्दछौम् जसरी गर्नुपर्ने देखिन्छ । यसलाई सामान्य गल्ती भनेर छोड्न भने सकिँदैन ।
तत्सम शब्दको सही प्रयोग र टङ्कणमा बेवास्ता
ब्राम्हण, विरुद्व, आव्हान, चिन्ह र व्यासार्द्ध जस्ता शब्दहरू अशुद्ध छन् । तत्सम शब्दका प्रयोगहरूमा धेरै गल्ती देखिन्छन् । हलन्तमा अजन्त प्रयोग, समस्त शब्दमा असमास, विसर्गको परसवर्णमा बेवास्ताजस्ता खटिराहरू संविधानको शरीरभरि फैलिएका छन् । निष्ठावान् शब्दका लागि निष्ठावान, परिषद् शब्दका निम्ति सबैतिर परिषद शब्दको प्रयोग गरिएको छ । मन्त्रिणां परिषद् मन्त्रिपरिषद्, यो विग्रहमा बनेको समस्त शब्द मन्त्रिपरिषद् हो । संस्कृतका निम्ति शुद्ध शब्द यही हो । संविधानमा भने नेपाली विग्रहअनुसार मन्त्रीहरूको परिषद् मन्त्रीपरिषद् भनेर गरिएको हो वा तत्सम शब्द लिन खोजिएको भन्नेमा पनि दुबिधा देखिन्छ र दुवैको प्रयोग गरिएको देखिन्छ । भूगोलविद, प्रशासनविद र कानूनविद लेखेको देख्दा भाषाविद्को कमी भएको महसुस हुन्छ । समासमा पनि उस्तै समस्याहरू देखिन्छन् । न्याय परिषद्, अर्थ विधेयक, अन्तर प्रदेश, प्रतिनिधि सभा, प्रदेश सरकार, प्रदेश प्रमुख, रक्षा मन्त्री, गृह मन्त्री, अर्थ मन्त्री, परराष्ट्र मन्त्री, मुख्य सचिव र, प्रधान सेनापति आदि । (प्रधानश्चासौ सेनापतिः) प्रधान छ जो सेनापति भन्ने कर्मधारय-समास हुनुपर्ने शब्दमा पनि यस्तो प्रयोग अस्वाभाविक प्रयोग हो ।
कानुनमा शब्दलाई मोडेर कदाचित् अन्य अर्थ निकाल्न सकिने सम्भावना पनि उत्तिकै रहन्छ । ‘प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयक बाहेक अन्य विधेयकको सम्बन्धमा पुनर्विचार हुन आवश्यक छ । ’(धारा २०१, उपधारा ३) यो प्रमाणीकरणका लागि पेश भएको शब्दको अर्थ हो कि अर्थ विधेयक ? अर्थव्यत्यय होस् कि न होस्, अर्थविधेयक लेखिदिन उत्रो सङ्घर्ष गर्नुपर्ने त लाग्दैन ।
पुनःनियुक्तिलाई पुनर्नियुक्ति र पुनरावलोकनलाई पुनरवलोकन बनाउन पनि कठिनाइ नहोला ।
नामयोगीको मनलाग्दी प्रयोग र विभक्तिलाई मन लाग्दा जोड्ने र मन नलाग्दा टाढा राखिदिने काम पनि भाषालाई उपेक्षा गर्ने कामकै रूपमा लिनुपर्छ । मह+त्व भनेर महको धर्म भनेको हो कि ? महत्त्व भन्न खोजेको ? पुरातत्त्व शब्द पनि संविधानमा पुग्दा तत्व भएछ ।
यी यस्ता थुप्रै रोग र कीटाणुले ग्रस्त भएको नेपालको संविधानलाई भाषिक चिकित्सकहरूकहाँ जसरी भए पनि चाँडो भन्दा चाँडो पुऱ्याउनुपर्ने देखिन्छ । गल्ती हुनसक्छ तर त्यसको अनुभूतिपछि सुधार भने अवश्य हुनुपर्छ । होइन भने संविधान पढेर लोकसेवा पास गरेर आउने कर्मचारीहरूलाई, अब आउने पछिल्ला सचेत नेपाली नागरिक सन्ततिहरूलाई र नेपाली संविधानको अध्ययन गर्नेलाईसमेत भाषामा खेलाँची गर्न उक्साउने काम संविधानले नै गरेको हो भनेर दोषारोप लाग्न सक्नेछ अनि लगाउन सकिन्छ ।
हाम्रो वर्तमान संविधानमा मात्रै भाषागत तथा व्याकरणीय अशुद्धिहरू छैनन्, बरु राष्टिय गानमा समेत २० भन्दा धेरै स्थानमा अशुद्धिहरू रहेका छन् । यसका बारेमा सङ्गीतकार तथा गीतकार लोचन भट्टराई देखि अन्य थुप्रै भाषाविद्हरूले समेत प्रश्न गरिसकेका छन् । राष्ट्रिय गान जुन हरेक औपचारिक कार्यक्रमहरूमा गाइन्छ, जसलाई राष्ट्रिय मान्यता दिइएको छ र जसलाई गाउँदा प्रत्येक नेपालीलाई गौरवबोध हुनुपर्छ, त्यस्तो राष्ट्रिय गान नै अशुद्ध हुँदा सार्वभौम देशभक्त नेपालीको शिर निहुरिइरहेको छ।
भाषाको सुव्यवस्थामा लाग्नुपर्ने संस्थाहरूले जतिसक्दो चाँडो नेपाली भाषामा भएका दुबिधामा नातावाद र कृपावादले नछोइएका विशुद्ध विद्वान्हरूबिच छलफल गराई संवैधानिक र प्रशासनिक सबै संयन्त्रहरूमा हुने भाषिक प्रयोगमा पनि शुद्धप्रयोग गर्नैपर्ने निर्देशन र आदेश दिनुपर्ने देखिन्छ । किं बहुना ? बुझ्नेलाई सङ्केत नै मनग्य हुन्छ ।
अस्तु
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।